नक्कली शरणार्थी प्रकरणमा आज (आइतबार) देखि काठमाडाैं जिल्ला अदालतमा हुने थुनछेक बहसका लागि समय–तालिका तयार पारिएको छ।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ अभियुक्तका विषयमा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि थुनछेक बहस हुँदै छ। सबै अभियुक्तलाई हिरासतबाट अहिले जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको छ।
थुनछेक बहसको इजलासमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वसांसद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मिया, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, सानु भण्डारी, रामशरण केसी र गोविन्द चौधरीलाई उपस्थित गराइएको हो। उनीहरुसँगै इन्द्रजित राई, नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, टंक गुरुङ, केशव दुलाल, सागर राई, लक्ष्मी महर्जन र हरिभक्त महर्जन पनि अहिले इजलासमा छन्।
थुनछेक बहसका लागि न्यायाधीश न्यौपानेले समय विभाजन गरेका छन्। जेठ ३१ गते आदेश आउनेगरी उनले बहसको तालिका निर्धारण गरेका हुन्।
जसअनुसार आज, भोलि र पर्सि अर्थात् मंगलबारसम्म सरकारी वकिलले बहस गर्नेछन् भने यसपछि बुधबारदेखि ६ दिन प्रतिवादीतर्फका वकिलले बहस गर्नेछन्। अर्थात् प्रतिवादी पक्षका वकिलले बुधबार, बिहीबार, शुक्रबार, आइतबार, सोमबार र मंगलबारभित्र बहस सक्नुपर्नेछ।
त्यसपछि भोलिपल्ट बुधबार सरकारी वकिलले जवाफी बहस सक्ने र त्यही दिन आदेश आउनेगरी न्यायाधीश न्यौपानेले समय निर्धारण गरेका छन्।
थुनछेक बहसपछि उल्लिखित १८ अभियुक्तलाई पुर्पपक्षका लागि जेल चलान गर्ने वा कारागारबाहिरै राखेर मुद्दा अघि बढाउने भन्ने विषयमा निर्णय हुनेछ।
पहिलो दिन आज अभियोग दायर गर्ने सरकारी वकिलले बहस गर्ने छन्।
सरकारी वकिलहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्ने सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि नेउपानेले जानकारी दिए।
पीडितका तर्फबाट बहस गर्न भने अहिलेसम्म एकजना वकिल पनि सम्पर्कमा नआएको उनले बताए।
उक्त प्रकरणमा प्रतिवादीको कूल संख्या ३० भए पनि १२ जना फरार छन्। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।
- बालकृष्णलाई इजलासका २४ प्रश्न, के दिए जवाफ? (बयानको पूर्णपाठ)
- इजलासमा टोपबहादुरको याचना : मेरो राजनीतिक भविष्य सिध्याउन मुद्दा लगाइयो, सफाइ पाऊँ
- इजलासमा सचिव पाण्डेको बयान : प्रहरीले राति निद्रामा दबाब दियो (पूर्णपाठ)
- इन्द्रजितले इजलासमा भने : केशव दुलाल र सानु भण्डारीसँग कार्यालयमै विवाद भएको सत्य हो
Shares
प्रतिक्रिया