ad ad

खेल


क्रेन अपरेटरको मृत्युपछि रंगशाला स्तब्ध

क्रेन अपरेटरको मृत्युपछि रंगशाला स्तब्ध

यज्ञराज जोशी
मंसिर १, २०७६ आइतबार १४:३,

दक्षिण एसियाली खेलकुद(साग)को नजिकिँदै जाँदा रातदिन नभनी रंगशाला निर्माण भइरहेको छ। कात्तिक २२ शुक्रबारको राति पनि भीआईपी(पश्चिम) तर्फका आठ खम्बा ठड्याइएका थिए।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा आफैँ रंगशालामा बसेर कामको रेखदेख गरेका थिए। उनीसँगै थिए, क्रेन अपरेटर इन्द्र श्रेष्ठ। सुरुमा राति ११–१२ बजेसम्म काम सकिएला भन्ने थियो। तर, काम अर्को दिन बिहानसम्म पनि निरन्तर जारी रह्यो। शनिबार बिहान ८ बजेतिरमात्रै उनीहरुले विश्राम लिएका थिए।

रातभर काम गरेर घर गएका इन्द्रको कात्तिक २३ को दिउँसो अचानक मृत्यु भयो। आफूसँगै काम गरेका व्यक्तिहरुको मृत्यु भएपछि रंगशालामा कार्यरत कामदार–कर्मचारी स्तब्ध भएका छन्।

‘बिहीबार दिनभरी काम गरेका थियौं। शुक्रबार रातभर पनि काम गर्‍यौँ,’ इन्द्रकै निर्देशनमा रातभरि क्रेन चलाएका समर रानाले भने। समरलाई इन्द्रले नै रंगशालामा काम गर्न ल्याएका हुन्।

‘शुक्रबार नै म घर(नवलपरासी) जान लागेको थिएँ। तर अंकल(इन्द्र)ले आज राति १२ बजेसम्म काम गर्ने, तिमी भोलि बिहानै जाऊ, म बसपार्कसम्म छोडिदिन्छु भन्नुभएको थियो,’ समरले भने, ‘हुन्छ नि त, भनेर काम गर्दा बिहान भयो। दिउँसो मलाई पुर्‍याइदिनु भन्दा उहाँले निद्रा लागेको छ भन्नुभयो। त्यसपछि म बसपार्कतिर लागेँ। साँझ उहाँ बित्नुभएको फोन आउँदा पत्याउनै सकिनँ।’

रंगशालाका कामदारलाई खाना पकाउँछिन्, बुनु लामा। बुनुलाई त्यो काम उनका मितबुबा यिनै इन्द्रले नै मिलाइदिएका थिए। आफैँले खाना खुवाएर घर पठाएको मितबुबाको निधनको खबरले उनी पनि स्तब्ध थिइन्।

‘बिहान बुबालाई अण्डा, भात, तरकारी खान दिएको थिएँ,’ बुनुले भनिन्, ‘खाना खाएपछि म र बुबा दिउँसो एक बजे रंगशालाबाट निस्केका थियौं। म तीनकुनेको तरकारी बजार गएँ। बुबा घर जानुभएको थियो। पछि ममी(इन्द्रकी श्रीमती)ले मलाई रुदैँ फोन गर्नुभयो। म पुग्दा उहाँ बितिसक्नुभएको थियो।’

उनका अनुसार इन्द्र घर (सिनामंगल) पुग्दा उनकी श्रीमती घरमा थिइनन्। उनले पत्नीलाई फोन गरेका थिए। उनकी पत्नी घर पुग्दा इन्द्र बेहोस भइसकेको थिए। अस्पताल पुग्दा उनको प्राण गइसकेको थियो।

श्वास नलीमा केही अड्केर इन्द्रको मृत्यु भएको मेडिकल रिपोर्टमा उल्लेख रहेको उनका भतिज प्रज्ज्वल श्रेष्ठले बताए। ‘हेल्थ रिपोर्ट अनुसार खाना खाएपछि केहीबेर पछि बुबा(इन्द्र)लाई वान्ता आएको छ। त्यसबेला फोक्सोको श्वास फेर्न ठाँउमा केहीकुरा छिरेर निधन भएको मेडिकल रिपोर्टमा देखाइएको छ,’ उनले भने।

इन्द्रसँग रातभरी बसेर काम गरेका मन्त्री विश्वकर्माले आफूहरु दुःखी भएको बताए। ‘निकै दुःखद् घटना भयो। रातभर सँगै काम गरेका इन्द्र दाइको अर्को दिन निधन भएको खबर आयो। यसबाट सागको उत्साहमा बेला पनि हामीमाझ नरमाइलो छाएको छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .