भिसा समस्याका कारण टोलीसँगै दक्षिण अफ्रिका जान नपाएका राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन्।
समयमै भिसा नआउँदा भारतमै रोकिएका मोन्टी बुधबार साँझ भिसा आएपछि आज बिहानै दक्षिण अफ्रिकातर्फ लागेका हुन्। यसअघि अमेरिकाबाट भिसा प्रक्रिया सुरु गरे पनि अस्वीकृत भएपछि उनले भारतबाट प्रक्रिया थालेका थिए।
नेपालले आज स्कटल्यान्डसँग अभ्यास खेल खेल्दै छ। दोस्रो अभ्यास खेल शनिबार खेल्नेछ। त्यसपछि नेपाली टोली त्यतैबाट जिम्बाबे लाग्नेछ। जिम्बाबेमा नेपालले विश्वकप छनोटअघि मंगलबार यूएई र बिहीबार ओमानसँग अभ्यास खेल खेल्नेछ।
त्यसपछि नेपालले विश्वकप छनोट यात्रा थाल्नेछ। विश्वकप छनोट असार ३ देखि २४ गतेसम्म हुनेछ। नेपाल घरेलु टोली जिम्बाबेसँगै वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स रहेको समूह एमा छ।
समूह बीमा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई छन्।
नेपालले असार ३ गते जिम्बाबेसँग विश्वकप यात्रा सुरु गर्नेछ। हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन्।
सुपर सिक्समा समूह बीबाट आउने तीन टोलीले समूह एका तीन टोलीसँग खेल्नेछ। त्यसका शीर्ष दुई टोली फाइनलमा पुग्दै भारतमा हुने विश्वकप खेल्न पाउनेछन्।
Shares
प्रतिक्रिया