नेपाली खेलाडीका लागि पछिल्लो समय अस्ट्रेलिया गन्तव्य बनिरहेको छ। खेलकुदको बहानामा अस्ट्रेलिया पुग्ने र उतै भासिने खेलाडीको सूचीमा पारा खेलाडी पनि थपिएका छन्।
पारा खेलकुदमा नेपालबाट तेक्वान्दोका तीन खेलाडीले स्पर्धा गर्ने भनिए पनि अन्तिममा पलेसा गोवर्धन एक्लैले देशको प्रतिनिधित्व गर्नुपर्ने भएको छ।
पारा तेक्वान्दोमा नेपालका तर्फबाट पलेसासँगै सिर्जना घिसिङ र रामबहादुर अधिकारीले सहभागिता जनाउने निश्चित थियो। तर प्रतियोगिताको मिति नजिकिँदै गर्दा अन्य खेलाडी अस्ट्रेलिया पलायन भएपछि नेपालबाट पलेसा एक्लैले प्रतिस्पर्धा गर्नुपर्ने भएको हो।
चीनको हाङजाओमा हुने चौथो एसियन पारा खेलकुदमा सहभागी हुन नेपाली तेक्वान्दो टोली आज त्यसतर्फ प्रस्थान गरेका छन्।
तेक्वान्दोमा सहभागी हुन प्रशिक्षक कविराज नेगी र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ आज चीन प्रस्थान गरेका हुन्।
पलेसा वैदेशिक प्रशिक्षण र आर्किटेक्चर इन्जिनियरका लागि हाल चीनको शाङघाइमा नै छिन्। पलेसा विश्व वरीयताको सातौँ स्थानमा छिन्। पारा तेक्वान्दोबाट स्वर्ण पदकको अपेक्षा गरिएको प्रशिक्षक कविराज नेगीले बताए।
एसियाली पारा खेलकुद कात्तिक ५ गतेदेखि ११ गतेसम्म हुँदै छ। तेक्वान्दोका खेल भने कात्तिक ६ देखि ८ गतेसम्म हुनेछ।
यसअघि पारा तेक्वान्दोमा सिर्जना घिसिङ र रामबहादुर अधिकारीले नेपालको प्रतिनिधित्व गर्ने भनिए पनि उनीहरु एसियाडअघि नै अस्ट्रेलिया पलायन भएका हुन्।
हाङजाओ एसियाडका लागि अस्ट्रेलियामा एक्स्पोजरका लागि खेलमा सहभागिता गराउने भनिएको थियो।
खेलाडीहरु अस्ट्रेलिया नै बस्ने भएपछि संघका अध्यक्ष प्रकाश शमशेर राणालगायत पदाधिकारी र प्रशिक्षक उनीहरुको घरमा नै पुगेको थियो।
एसियाडमा सहभागी भइदिन आग्रह गरे पनि उनीहरु नमानेको संघका एक पदाधिकारीले बताए।
अध्यक्ष राणाले उनीहरुको अस्ट्रेलिया जान/आउन लाग्ने खर्च सबै बेहोर्ने बताए पनि उनीहरु उतै बस्ने निर्णय गरेको सदस्यले बताएका छन्।
एक वर्षका लागि भिसा रहेका कारण एसियाडपछि जान अनुरोध गरे पनि उनीहरु नमानेका कारण पलेसा एक्लैले नेपालको प्रतिनिधित्व गर्ने पदाधिकारीले बताए।
Shares
प्रतिक्रिया