ad ad

कारोबार


कीर्तिपुर र मूलपानी रंगशालामा वर्ल्डलिंकले १०० एमबीपीएस डेडिकेटेड इन्टरनेट प्रदान गर्ने

कीर्तिपुर र मूलपानी रंगशालामा वर्ल्डलिंकले १०० एमबीपीएस डेडिकेटेड इन्टरनेट प्रदान गर्ने

नेपालखबर
बैशाख ६, २०८० बुधबार ११:३८, काठमाडौँ

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नेपालमा क्रिकेटका लागि आवश्यक पर्ने इन्टरनेटसम्बन्धी सम्पूर्ण पूर्वाधार प्रदान गर्ने भएको छ।

नेपालमा सबैभन्दा बढी ग्राहक रहेको वर्ल्डलिंकले क्रिकेटको स्तरोन्नति गर्न आवश्यक कनेक्टिभिटी प्रदान गर्ने भएको हो। 

वर्ल्डलिंक र क्रिकेट संघ नेपाल (क्यान) बीच मङ्गलबार आपसी समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार वर्ल्डलिंकले कनेक्टिभिटीसम्बन्धी पूर्वाधार प्रदान गर्नेछ। 
 

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएको उक्त समझदारीपत्रमा वर्ल्डलिंकको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपाल र क्यानको तर्फबाट कार्यकारी सचिव दुर्गाराज पाठकले हस्ताक्षर गरेका छन्।

तीन वर्षका लागि भएको  सम्झौताको अवधि दुवै पक्षबीचको आपसी समझदारीमा थप समयका लागि विस्तार हुन सक्नेछ। 

समझदारीपत्रमा हस्ताक्षरका लागि आयोजित कार्यक्रममा कम्पनीका सीईओ नेपालले वर्ल्डलिंक देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक भएकोले पनि देशको खेललाई विस्तार तथा प्रवर्द्धन गर्नु आफूहरूको जिम्मेवारी भएको बताए। 

‘हामीले देशका दुर्गम स्थानहरूमा पनि सेवा उपलब्ध गराइरहेका छौँ। पछिल्लो समय खेलमा पनि नेपालले प्रगति गरिरहेको छ। यसलाई देशका हरेक कुना-कुनासम्म पुर्‍याउनु हाम्रो दायित्व हो। यही कुरालाई मनन गर्दै हामीले खेल प्रवर्द्धनमा सहयोग गरेका हौँ’, उनले भने।

सम्झौताअनुसार मूलपानी र कीर्तिपुर क्रिकेट मैदानमा वर्ल्डलिंकले वैकल्पिक अप्टिकल फाइबर केबलसहित ४० एमबीपीएस गतिको डेडिकेटेड इन्टरनेट सुविधा उपलब्ध गराउनेछ। यससँगै जारी एसीसी क्रिकेट कप अवधिभरका लागि दुवै स्थानमा १०० एमबीपीएसको डेडिकेटेड इन्टरनेट जडान गरिएको कम्पनीले जनाएको छ।

वर्ल्डलिंकका नेपालमा ७ लाख ५० हजार बढी ग्राहक छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .