ad ad

ग्लोबल


सामुदायिक भवनमा पहिले जेटबाट बम खसाइयो, बाँचेकाहरुमाथि हेलिकोप्टरबाट गोलीबारी

सामुदायिक भवनमा पहिले जेटबाट बम खसाइयो, बाँचेकाहरुमाथि हेलिकोप्टरबाट गोलीबारी

नेपालखबर
चैत २९, २०७९ बुधबार १९:२३, काठमाडौँ

म्यानमारको सेनाले सागेङ क्षेत्रमा हवाई आक्रमण गरेको स्वीकारेको छ। मंगलबार गरिएको सो आक्रमणमा एक सय हाराहारीको ज्यान गएको बताइएको छ। सो संख्या पुष्टि भए यो फेब्रुअरी २०२१ मा भएको सैन्य कू यताकै सबैभन्दा ठूलो हत्याकाण्ड हुनेछ।

सामुदायिक भवनमा नाचगान गरिरहेका महिला र बालबालिका समेत मारिएको रिपोर्टहरुमा जनाइएको छ। केही सञ्चारमाध्यमले भने मर्नेहरुको संख्या ५० हाराहारी रहेको जनाएका छन्।

म्यानमारी सेनाका एक प्रवक्ता ज मिन तुनले पा जी गी गाउँमा सो आक्रमण गरिएको पुष्टि गरे। तर, उनले सैन्य शासनको विरोध गरिरहेको एक मिलिसियाको कार्यक्रममा हमला गरिएको दाबी गरे।

‘उनीहरुको कार्यक्रमको उद्घाटन समारोहमा हामीले आक्रमण गर्यौँ। जसमा पीडीएफ मिलिसियाका सदस्यहरु मारिए,’ ज मिन तुनले भनेका छन्।

पिपुल्स डिफेन्स फोर्स नामक मिलिसियाहरुले म्यानमारको सैन्य कूविरुद्ध प्रतिरोध गरिरहेका छन्।

प्रत्यक्षदर्शीहरुका अनुसार मंगलबार बिहान सो आक्रमण भएको थियो। गाउँको सामुदायिक भवनमाथि लडाकु जेटबाट बम खसाइएको थियो। बम आक्रमणबाट बचेकाहरुमाथि हेलिकोप्टरबाट गोली बर्साइएको थियो। जसका कारण समयमा उद्धारसमेत हुन नसकेको जनाइएको छ।

‘केटाकेटीसहित थुप्रै व्यक्ति मारिए, ५० भन्दा बढी,’ सो क्षेत्रका पूर्वसांसद युने जिन लाटले भनेका छन्।

आक्रमणलगत्तै घटनास्थल पुगेका सो गाउँका बासिन्दा को आङले त्यहाँको दृश्य देखेर आफू हतप्रभ भएको बताए। 

‘चौरमा लास छरिएका थिए। मोटरसाइकलहरु जलिरहेका थिए। घर पुरै भत्किएको थियो। मानिसहरु आआफ्ना नातेदार खोज्दै रोइकराइ गरिरहेका थिए,’ उनले भने।

आफूले पनि सो आक्रमणमा नातेदार गुमाएको उनको भनाइ छ।

उनले एमआई–३५ हेलिकोप्टरले जमिनमा उद्धारको प्रयास गरिरहेका मानिसहरुमाथि गोली बर्साएको पनि बताए।

सैन्य प्रवक्ताले मिलिसियालाई समर्थन गर्न बाध्य बनाइएका केही व्यक्तिको पनि ज्यान गएको स्वीकार गरे।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सो आक्रमणको निन्दा गरेका छन्। उनले आक्रमणमा जिम्मेवारहरुसँग जवाफ खोज्न आह्वान गरे। साथै घाइतेहरुलाई तुरुन्त उपचारको व्यवस्था गर्न पनि आग्रह गरेका छन्।

राष्ट्रसंघीय मानव अधिकार आयुक्त वोल्कर तुर्कले आक्रमणबाट आफू भयातुर भएको बताए। सैन्य सत्ताले अन्तर्राष्ट्रिय कानुन ठाडै उल्लंघन गरेको उनको भनाइ छ। 

सैन्य सत्ताले गरेका केही दुष्कर्महरु युद्ध अपराध र मानवताविरुद्धको अपराध ठहरिने उनले बताए।

अमेरिकाले पनि घटनाप्रति चासो व्यक्त गरेको छ।

सेनाले आङ सान सुकीको निर्वाचित सरकार अपदस्थ गरी सत्ता हडपेपछि म्यानमार गृहयुद्धको दलदलमा भासिएको छ। सुरुमा सैन्य कूविरुद्ध शान्तिपूर्ण प्रदर्शनहरु भएका थिए। तर, सेनाले चरम दमन गरेपछि अपदस्थ गरिएका सांसदहरुले गठन गरेको नेसनल युनिटी गभर्नमेन्टले जनविद्रोहको आह्वान गर्यो।

त्यसपछि मुलुकभर पीडीएफ मिलिसियाहरु खडा भए र सशस्त्र संघर्ष सुरु गरे। 

यी मिलिसियाहरु शक्तिशाली छन्। जसका कारण सेनाले म्यानमारको ठूलो हिस्सामा आफ्नो नियन्त्रण गुमाएको छ। 

सडकमा सेनाको लस्कर यात्रा गर्ने अवस्था छैन। मिलिसियाहरुले जहीँतहीँ एम्बुसमा पार्न थालेपछि पछिल्लो समय सेना हवाई आक्रमणमा निर्भर बनेको छ। 

सेनाले स्कुल, अस्पतालजस्ता ठाउँमा पनि बमबारी गर्दै आएको छ। कतिपय स्थानमा सिंगै गाउँ ध्वस्त पारिएको छ। जनवरी २०२३ सम्ममा यस्ता ६ सयभन्दा बढी पटक हवाई आक्रमण भइसकेका छन्। 

गृहयुद्धमा हजारौँको ज्यान गएको छ। १२ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।

गत अक्टोबरमा कचिन राज्यमा एक सांगीतिक कार्यक्रममा सेनाले आक्रमण गर्दा करिब ८० जना मारिएका थिए।

एमनेस्टी इन्टरनेसनलले मंगलबार म्यानमारलाई हवाई इन्धन उपलब्ध नगराउन आह्वान गरेको छ।

‘नागरिकहरुको गैरकानुनी हत्या र उनीहरुलाई घाइते बनाउने र उनीहरुको घर ध्वस्त पार्ने कार्य म्यानमारको सेनाको पहिचान बनिसकेको छ। जो प्रतिरोध अन्त्य गर्न तथा जनतामा डर पैदा गर्न जुनसुकै हदसम्म जानसक्छ। यस्तो घृणित तरिकाको मार म्यानमारका नागरिकले बेहोरिरहेका छन्,’ एमनेस्टीका मोन्टसे फेररले भनेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .