केही वर्षअघिसम्म आफ्नो विधामा अन्तर्राष्ट्रिय राष्ट्रिय मञ्चमा विज्ञका रूपमा व्यस्त देखिने सुमना श्रेष्ठ केही महिनायता राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट संसदमा गम्भीर विषयमाथि तर्कपूर्ण प्रश्न गरिरहेकी छिन्।
उनले संसदमा गर्ने प्रश्न संगठित मात्र नभई नवीन पनि हुन्छन्। सुमनाको सामयिक र गम्भीर विषयवस्तुलाई उठाउने शैली पनि निकै सटिक र राम्ररी संयोजन गरिएका हुन्छन्। ती अध्ययनमा आधारित हुन्छन्।
संसदमा अध्ययनशील सांसदको भूमिकामा प्रस्तुत हुने उनी भीडमा छुट्टै देखिन्छिन् र सबैको ध्यानाकर्षित गर्छिन्।
जनताले जिताएर पठाएको सांसदले विकास निर्माणमा नभुली नीति निर्माणमा ध्यान दिनुपर्ने र गरिएका बाचा पूरा भएका छन् कि छैनन्? निरन्तर अनुगमन र प्रश्न गर्नुपर्ने बताउने सुमनालाई हामीले नेपालखबरको मल्टिमीडिया स्टुडियोमा बोलाई उनले संसदमा उठाउने मुद्दाको छनौट, अध्ययन र तयारी प्रक्रियाबारे सोधेका थियौं।
नेपालखबर विशेष संवाददाता सागर न्यौपानेसँग सुमनाले संसदमा बोल्ने चार मिनट लामो भाषण तयारी गर्न २० घण्टासम्म लाग्ने बताइन्।
बूढानीलकण्ठ स्कूलबाट ‘ए–लेभल’ र क्याम्ब्रिज म्यासाचुसेटस, अमेरिकाबाट ‘मास्टर्स ईन बिजनेस एडमिनिस्ट्रेशन’ गरेकी सुमनाले अध्ययनशीलताको हिसाबले ‘बिजनेस’ बिनाको संसदमा सास भर्ने प्रयत्न गरेकी छन्।
संसदमा आउनुअघि स्वदेशी र विदेशी संस्थानमा नेतृत्वदायी भूमिकामा देखिएकी सुमनाले देशमा बेथिति बढ्दै गएपछि त्यसलाई ट्रयाकमा ल्याउन राजनीतिमा प्रवेश गरेको सुनाउँछिन्।
उनी भन्छिन्, ‘लामो समय समाजसेवामै बिताएँ। अहिले राजनीतिमार्फत त्यसैलाई निरन्तरता दिन खोजेकी हुँ।’
प्रतिक्रिया