काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ मा चार बालबालिकामा दादुरा रोग देखिएको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा त्यहाँबाट ल्याइएका पाँच नमुनामध्ये चारवटामा दादुरा पुष्टि भएको परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाका खोप अधिकृत भरत भण्डारीले जानकारी दिए।
गोकर्णेश्वर नगरपालिकाको एक विद्यालयमा ५४ जना विद्यार्थीमा दादुरासँग मिल्दाजुल्दा लक्षण देखिएपछि पाँचजनाको नमुना जाँच गर्दा चार बालबालिकामा दादुराको संक्रमण पुष्टि भएको भण्डारीले बताए।
लक्षण देखिएका धेरैजसो बालबालिकाले खोप नलगाएको पाइएकाले उनीहरुलाई निगरानीमा रखिएको उनले बताए।
यसअघि २०७९ पुस १२ मा बाँकेको नेपालगन्जमा ठूलो मात्रामा दादुरा देखिएको थियो। त्यस बेला ११ सयभन्दा बढी बालबालिकामा दादुराको संक्रमण पुष्टि भएको थियो भने एकजनाको मृत्युसमेत भएको थियो।
दादुरा, रुबेला पूर्ण खोप घोषित बाँकेमा कसरी दादुरा फैलियो भनेर अध्ययन गर्दा पूर्ण खोप घोषणा नै गलत पाइएको थियो। किनभने संक्रमितमध्ये धेरैले दादुरा/रुबेलाविरुद्धका खोप नै नलगाएको पाइयो।
त्यो समयदेखि हालसम्म दादुरा १७ जिल्लामा फैलिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सरकारले २०२६ सम्म दादुरा/रुबेला निवारण गर्ने लक्ष्य लिएको छ। तर फेरि दादुरा देखिन थालेपछि निवारणमा चुनौती थपिँदै गएको स्वास्थ्य विज्ञहरु बताउँछन्।
कस्तो रोग हो दादुरा?
दादुरा कोरोनाभन्दा पनि छिटो फैलिने सरुवा रोग भएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए। डा. पुनका अनुसार एकजना दादुरा संक्रमितले झन्डै १८ जनालाई सार्न सक्छ।
‘दादुरा संक्रामक रोग हो जुन मिजल्स भाइरसको कारणबाट हुन्छ,’ उनले भने, सामान्यतया दादुरा ५ वर्षमुनिका बालबालिकामा धेरै लाग्छ र छिट्टै महामारीको रुप लिन पनि सक्छ। यदि बालबालिकाको समयमा उपचार भएन भने गम्भीर प्रकारको जटिलता हुनुका साथै मृत्युसमेत हुनसक्छ।’
लक्षण
शरीरमा दादुराको भाइरस प्रवेश गरेको ७ देखि १४ दिनसम्ममा लक्षण देखिने डा. पुनले बताए।
दादुरा आउँदा ज्वरो आउने, जिउ दुख्ने, खोकी लाग्ने, आँखा रसाएको जस्तो रातो हुने र मुख हुँदै शरीरभरि रातो बिबिरा देखिन्छन्। यस्ता लक्षण देखिनासाथ बिरामीलाई अस्पताल लैजानुपर्छ।
दादुरा तीव्र गतिमा फैलिने भएकाले लक्षण देखिएका व्यक्तिहरुले जति सक्यो चाँडो भीडभाडबाट टाढा बस्नुपर्छ। त्यस्तै खोप लगाउनुपर्छ।
‘दादुराले बिरामीलाई गम्भीर अवस्थामा पुर्याउनाका साथै निमोनिया हुने वा मस्तिष्कलगायत शरीरका विभिन्न अंगमा प्रत्यक्ष असर पार्नसक्छ। समयमा उपचार पाएन भने बिरामीको मृत्यु नै हुनसक्छ,’ उनले भने।
Shares
प्रतिक्रिया