ad ad

समाज


पोखरा महानगरले पठायो भूकम्प प्रभावित क्षेत्रमा राहतसहित उद्धार टोली

पोखरा महानगरले पठायो भूकम्प प्रभावित क्षेत्रमा राहतसहित उद्धार टोली

फाइल तस्बिर


नेपालखबर
कात्तिक १९, २०८० आइतबार ६:२२, कास्की

पोखरा महानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्रीसहित उद्धार टोली पठाएको छ।

महानगरले वडाध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरीसहितको टोली राहत तथा उद्धारका सामग्रीसहित शनिबार साँझ प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो।

शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका–१ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।

महानगर प्रमुख धनराज आचार्यले दुईवटा सानो गाडी र एक ट्रकमा राहत सामग्री सहित १७ जनाको उद्धार टोली प्रभावित क्षेत्र रुकुम र जाजरकोट प्रस्थान गरेको जानकारी दिए। महानगरको टोली आवश्यकतानुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिने छ। 

टोलीले राहत सामग्रीका रूपमा लत्ताकपडा, त्रिपाल, ब्ल्याङ्केट र औषधि एवं उपचारका आवश्यक सामग्री गएको प्रमुख आचार्यले जानकारी दिए। ‘भूकम्पका कारण सिर्जित हृदयविदारक घटनामा राहत तथा उद्धारमा सहभागी हुनु हाम्रो पनि कर्तव्य हो । प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुनःनिर्माणलगायत कार्यमा पोखरा महानगरले सहयोग गर्नेछ,’ उनले भने। 

महानगरले भूकम्प प्रभावित क्षेत्रमा ५० लाखको सहयोगको घोषणासमेत गरेको छ । महानगर प्रमुख आचार्यले पहिलो चरणमा महानगरका जनप्रतिनिधिको एक महिनाको पारिश्रमिकबापत १३ लाख १५ हजार राहत प्रदान गरिने जानकारी दिए। राहतका लागि नपुग रकम महानगरपालिकाको विपद् कोषबाट खर्च व्यहोरिने र ५० लाख बराबरको राहत सहयोग प्रदान गरिने महानगरले जनाएको छ।
 
यसैगरी गण्डकी प्रदेश सरकारले पनि प्रभावित क्षेत्रमा मानवीय सहायताका लागि चिकित्सक टोली पठाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने उद्देश्यले चिकित्सकसहितको टोली त्यसतर्फ पठाइएको जानकारी दिए।

सरकारले प्रदेश सरकारमातहतको सङ्क्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा.विकास गौचनको नेतृत्वमा मेडिकल, हाडजोर्नी र एनेस्थिेसियाको विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी र उपचार सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा पठाएको हो। 

स्थलमार्ग हुँदै जाने टोली आइतबार बिहान रुकुम पुग्ने र भूकम्पबाट घाइते भएकाको उपचारमा खटिने बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .