रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी सेप्टेम्बरमा हुने भनिएको एसिया कप क्रिकेट प्रतियोगिता नेपालमा गराउन माग गरेको छ।
नेपाली क्रिकेट टोलीले यूएईलाई हराउँदै एसिया कप यात्रा तय गरेपछि उक्त पार्टीका महामन्त्री डा. मुकुल ढकालले यस्तो माग गरेका हुन्।
रास्वपा प्रवक्तासमेत रहेका ढकालले पाकिस्तानमा एसिया कप हुने अन्योल देखिएकाले समूह चरणका खेलहरू नेपालमा गराउन पहल थाल्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको यही वैशाख अन्तिम साता हुने भनिएको भारत भ्रमणका क्रममा एसिया कपलाई एजेन्डा बनाउन पनि ढकालले माग गरेका हुन्।
‘एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएको छ। यस्तोमा एसिया कपका समूह चरणका खेल नेपालमा गराउन उपयुक्त भएकाले नेपाल सरकारको उच्चस्तरीय संयन्त्रबाट प्रतिस्पर्धी मुलुकहरू र एसिसीसँग आजैदेखि पहल थालियोस्,’ ढकालले भनेका छन्, ‘प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल गरी पहल गरियोस्।’
नेपालले मंगलबार त्रिवि क्रिकेट मैदानमा यूएईलाई ७ विकेटले हराउँदै २००२ पछि दोस्रो पटक एसिया कप यात्रा तय गरेको छ।
पाकिस्तानमा हुने भनिएको नेपाल एसिया कपमा पाकिस्तान र भारतसँगै समूह 'ए' मा छ। तर भारतले पाकिस्तान गएर नखेल्ने भनेपछि एसिया कप संकटमा परेको छ।
Shares
प्रतिक्रिया