कान्तिपुर हाफ म्याराथनको ११ औं संस्करण जेठ पहिलो साता हुने भएको छ।
कान्तिपुर पब्लिकेसन बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन जेठ ६ गते हुने जानकारी दिएको हो।
कान्तिपुर हाफ म्याराथनको नारा ‘लेट्स गो ग्रिन टुगेदर’ रहेको छ।
प्रतियोगितामा यो पटक कलेज रन विधा थप गरिएको छ। ७ किलोमिटर दुरी कायम गरिएको यो विधामा १८ वर्षमाथिका विद्यार्थीले दौडन पाउनेछन्।
हाफ म्याराथन २१.१ किमी, कर्पोरेट दौड ५ किमि, ह्विलचेयर ३ किमी दौडको विधा यथावत नै रहेको पब्लिकेशन्सका सीईओ महेश स्वाँरले बताए।
हाफ म्याराथन पुरुष र महिला दुवैका विजेताले जनही १ लाख रुपैयाँ हात पार्नेछन्। दोस्रो हुनेले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौं हुने खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
ह्विलचेयरतर्फका विजेताले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन्।
कलेज रनतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले केएफसीबाट फुड गिफ्ट भौचर पाउनेछन्। कर्पोरेटतर्फका विजेतालाई केएफसी र ह्याम्स अस्पतालको तर्फबाट विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने सीईओ महेश स्वाँरले बताए।
सबै विधामा गरी ३ हजारभन्दा बढीले भाग लिने आयोजकको अपेक्षा छ। खेलाडी दर्ताका लागि जेठ १ गतेसम्म समय तोकिएको छ।
कान्तिपुरको मुख्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने कान्तिपुर हाफ म्याराथन माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमि, सल्लाघारी चोकबाट फन्को लगाएर कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्कमै आएर सकिनेछ।
Shares
प्रतिक्रिया