साविक विजेता मछिन्द्र फुटबल क्लब शहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लेको छ।
आइतबार च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम (एनआरटी) लाई २-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र दोस्रो स्थानमा उक्लेको हो। मछिन्द्रको जितमा ओलावाले ओलाडिपो अफिज र सौरभ लिम्बुले गोल गरे।
खेलको १३औं मिनेटमा अफिज ओलावालेको गोलमा मछिन्द्रले सुरुवाती अग्रता बनाएको थियो।
पहिलो हाफमा १-० ले अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा १ गोल थप्यो।
खेलको इन्ज्युरी समयमा सौरभ लिम्बुले गोल गर्दै मछिन्द्रलाई २-० को जित दिलाए।
दोस्रो स्थानमा उक्लिएको मछिन्द्रले २० खेलबाट ३४ अंक जोडेको छ। पराजित एनआरटीले समान खेलबाट २३ अंक जोडेर नवौं स्थानमा छ।
आजै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङ मस्र्याङ्दी क्लब र एपीएफ फुटबल क्लबे बराबरी खेल्दै अंक बाँडे।
खेलको १३ औं मिनेटमा टिमोथी कौडोले पेनाल्टीमा गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए। २० औं मिनेटमा कप्तान नविन लामाको गोलमा एपीएफ बराबरीमा आयो।
तर २६ औं मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै मनाङलाई २-१ को अवस्थामा ल्याए। खेलको ६५ औं मिनेटमा अर्माण्ड विनोङको गोलमा एपीएफ बराबरीमा आयो।
मनाङले खेलमा दुइ पटक अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो।
Shares
प्रतिक्रिया