सांघाइ कोअपरेसन अर्गनाइजेसनको बैठकमा भाग लिन भारतको गोवा पुगेका चिनियाँ विदेशमन्त्री छिन काङले भारत–चीन सीमाको अवस्था स्थिर रहेको र दुवै पक्षले इतिहासबाट पाठ सिक्नुपर्ने बताएका छन्।
एससीओ बैठकको साइडलाइनमा समकक्षी एस जयशंकरसँगको द्विपक्षीय वार्ताका क्रममा विदेशमन्त्री छिनले यस्तो बताएका हुन्।
चिनियाँ विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘छिनले चीन–भारत सीमाको वर्तमान अवस्था सामान्यतः स्थिर छ। र, दुवै पक्षले दुई देशका नेताबीच भएका सहमति पालनालाई निरन्तरता दिनुपर्छ।’
जयशंकरले बिहीबार आफूले छिनसँग विस्तृत छलफल गरेको बताएका थिए। उनले छिनसँग अझै पनि मुख्य ध्यान सीमा क्षेत्रमा शान्ति र सुव्यवस्था कायम गर्नमा केन्द्रित भएको बताएका थिए।
छिनले सीमाको सामान्य व्यवस्थापनतर्फ लाग्नुपर्ने भन्दै भारतलाई आफ्ना मुद्दा उचित स्थानमा राख्न सल्लाह दिएका थिए।
भारतीय पक्षले भने सीमाको अवस्था अझै सामान्य भइनसकेको बताउँदै आएको छ।
२०२० को गलवान झडपयता दुवै देशका दसौँ हजार सैनिक अझै पनि सीमा क्षेत्रमा छन्। ती सैनिकलाई अप्रिल २०२० कै अवस्थामा फर्काउने भारतको प्रस्तावलाई चीनले अस्वीकार गर्दै आएको छ।
‘हामीले इतिहासबाट पाठ सिक्नुपर्छ र हाम्रो द्विपक्षीय सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणले हेर्नुपर्छ,’ छिनले भनेका थिए।
चीन भारतसँग द्विपक्षीय आदानप्रदान र परामर्शलाई अघि बढाउँदै सहकार्य वृद्धि गर्न इच्छुक रहेको उनको भनाइ थियो।
यद्यपि, सीमामा यथास्थिति कायम नहुञ्जेल सम्बन्ध सामान्य हुन नसक्ने भारतको अडान छ। एजेन्सी
Shares
प्रतिक्रिया